SHARE
कालिका खबर · बिहीबार २२ असो २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकि विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। मेलबर्नमा बिहीबार भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा पनि उनीहरूले जोड दिए।