SHARE
Samata Press · शुक्रबार​ १९ भौ २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका छन् । त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत पूर्ण रूपमा निकालिएको हो। करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि केएमसी ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो। सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको देखिएको थियो । चिकित्सकका अनुसार ट्युमरले मिर्गौलालाई तलतिर र फोक्सोलाई माथितिर धकेलेको थियो। त्यस्तै, मुटुबाट शरीरको तल्लो भागतर्फ रगत लैजाने प्रमुख रक्तनलीमा समेत ट्युमरको दबाब परेको थियो। ट्युमरको आकार ठूलो भएकाले शल्यक्रिया गरेर निकाल्ने निर्णय गरिएको थियो।