पम्फा दर्जी भन्छिन्- हामी नेपाली हौँ, तर तीन पुस्ता नै नागरिकताविहीन छौँ
काठमाडौँ। पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो। तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो। नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छन्। उनको पीडा आफूमा मात्र सीमित छैन। छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छन्। उनी भन्छिन्, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ।” पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो। १० सन्तानमध्ये जेठी उनी गरिबीको चपेटामा परेको परिवारमा हुर्किएकी थिइन्। लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए। “केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भनिन्, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो। रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ। नागरिकता नहुँदाको समस्या उनले त्यतिबेला अझ बढी भोग्नुपर्यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्तासमेत बनाउन सम्भव भएन। अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट समेत वञ्चित छन्। “आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो।