महिला जनप्रतिनिधि भन्छन्- ‘लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन’
ललितपुर। मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले जनप्रतिनिधि बनेपछि सहजतासँगै धेरै तिता र केही मिठा अनुभव सँगालेकी छन्। महिला जनप्रतिनिधिले घरदेखि जनसमुदायसम्म आफ्नो कार्यक्षमताप्रति विश्वास दिलाउन सङ्घर्ष गर्नुपरेको उनको अनुभव छ। “अध्यक्षलाई सबैले सम्मान गर्छन् तर उपाध्यक्षलाई हेर्दा पनि हेर्दैनन्”, उनले भनिन्, “लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन।” विसं २०७९ को निर्वाचनमा तत्कालीन माओवादी पार्टीबाट उपाध्यक्षमा निर्वाचित भएकी उनी आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि तयारी गरिरहेकी छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दा लैङ्गिक विभेदका विभिन्न आयाम भोग्नुपरेको उनले सुनाइन्। कार्यक्रममा बोल्ने अवसर दिँदा आयोजकले अध्यक्ष र वडाध्यक्षलाई मात्रै प्राथमिकता दिने र महिला जनप्रतिनिधिको विचार सुन्न आवश्यक नठान्ने गरेको उनको भनाइ छ। यस्तो परिपाटीविरुद्ध आफूले आवाज उठाउँदै आएको उनले बताइन्। “जुनसुकै कार्यक्रममा उपाध्यक्षका रूपमा म एक्ली महिला जनप्रतिनिधि हुन्थेँ”, उनले भनिन्, “त्यति हुँदाहुँदै पनि पुरुष मात्रै बोल्थे, महिलाको आवाज कसैले सुन्नै चाहँदैनथे। धेरै पटक कार्यक्रम आयोजकसँग विमति जनाएर फर्किएकी छु।” महिला जनप्रतिनिधिको कार्यक्षमतामाथि जनस्तरबाटै विश्वास नगरिएको तीतो अनुभव रहेको उनले बताइन्। यद्यपि, महिला जनप्रतिनिधिले जनसेवा प्रदान गर्दा पुरुषको तुलनामा बढी संवेदनशील र जनमुखी भूमिका निर्वाह गर्न सक्ने उनको विश्वास छ। “मेरो गाउँपालिकाका अध्यक्षलाई भौतिक निर्माणसँगै सामाजिक विकासमा पनि लगानी गर्नुपर्छ भनेर जोड दिने गरेकी छु”, उनले भनिन्, “किनकि सामाजिकस्तरमा समृद्धि आउन सके विकासका दीर्घकालीन समस्या समाधान हुन्छन् भन्ने लाग्छ।” समाजको तल्लो तहमा रहेका महिला, दलित, बालबालिका तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने योजना ल्याउन महिला जनप्रतिनिधिको दृष्टिकोण केन्द्रित हुने उनको अनुभव छ। ललितपुरमा बागमती प्रदेशस्तरीय महिला जनप्रतिनिधिबीच अनुभव आदानप्रदान तथा राजनीतिक चुनौतीका विषयमा छलफल गर्दै तीनदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा सहभागी जनप्रतिनिधिले महिला भएकै कारण भोग्नुपरेका सङ्घर्ष, चुनौती र कार्यक्षमताका विषयमा धारणा राखेका थिए। नेपाल महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला फाउन्डेसन, विकास अभियान र एक्सन एडको संयुक्त आयोजनामा भएको कार्यशाला ‘परिवर्तनशील राजनीतिक परिवेशमा महिला राजनीतिक नेतृत्व : अवसर, अवरोध र निर्णय प्रक्रियामा शक्ति प्राप्तिका लागि सङ्घर्ष’ विषयमा केन्द्रित थियो। चितवनको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजीमहतोले उपप्रमुखदेखि नगरप्रमुखसम्मको कार्यअनुभव सँगालेकी छन्। राजनीतिमा प्रवेश गर्नुअघि उनले कर्मचारीका रूपमा जनसेवा गरेकी थिइन्। कार्यालय सहयोगीदेखि वडा सचिवसम्मको प्रशासनिक जिम्मेवारी पूरा गरेपछि उनले स्थानीय तहको जनप्रतिनिधि बन्ने निर्णय गरेकी थिइन्। बालबच्चा र परिवारको जिम्मेवारीसँगै राजनीतिक भूमिका निर्वाह गर्न उनलाई सहज थिएन। तर, परिवारका सदस्यको सहयोगले उनी राजनीतिमा सक्रिय भइन्। विसं २०७४ मा उपप्रमुख निर्वाचित भएकी उनी विसं २०७९ मा नगरप्रमुखमा निर्वाचित भएकी हुन्। “महिलाका लागि राजनीति सजिलो विषय होइन, यद्यपि राजनीतिमा सशक्त हुनु आवश्यक छ”, उनले भनिन्। जनप्रतिनिधि भएपछि समाजमा कसरी र कुन शैलीमा काम गर्ने भन्ने तरिका सिकेको पनि उनले बताइन्। चेपाङ, दलित तथा सीमान्तकृत समुदायका बस्तीमा जाँदा आफूले लगाएका गहनासमेत निकालेर साधारण पहिरनमा पुग्ने गरेको उनले सुनाइन्। “मैले भड्किला गहना देखाउँदा त्यो समुदायले मेरो गहना हेर्छन्, मलाई सुन्दैनन्”, उनले भनिन्, “त्यसैले म सधैँ सजग हुन्छु र जिम्मेवार भएर काम गर्छु।” महिला जनप्रतिनिधि भएपछि सीमान्तकृत समुदायका मुद्दामा बढी ध्यान केन्द्रित हुने गरेको उनले स्पष्ट पारिन्। नगरप्रमुख निर्वाचित भएपछि पहिलो निर्णयका रूपमा चितवनको बघौडा अस्पतालमा महिला सेवाग्राहीका लागि निःशुल्क टिकटको व्यवस्था गरेको उनले जानकारी दिइन्। नगरप्रमुख ताराले बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेदेखि स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नेसम्मका सामाजिक क्षेत्रमा महत्त्वपूर्ण कामको सुरुवात गरेकी छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी सुमित्रा पन्त नेपाली कांग्रेसकी नेतृ हुन्। उनले विसं २०७४ देखि २०७९ सम्मका स्थानीय तह निर्वाचनमा उपप्रमुख र प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन्। निर्वाचित हुन नसके पनि आफू सक्षम र सबल रूपमा जिम्मेवारी बहन गर्न सक्ने विश्वास उनीमा छ। आगामी स्थानीय तहको निर्वाचनमा फरक रणनीतिका साथ गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने योजना रहेको पन्तले बताइन्। “निर्वाचन प्राविधिक विषय हो। हारजित हुन्छ, हार्दैमा राजनीतिबाट विमुख भइँदैन। अझै तयारीका साथ निर्वाचनमा प्रतिस्पर्धा गर्ने योजना बनाउँदै छु”, उनले भनिन्। ‘राजनीतिमा महिला नेतृत्व’ विषयमा महिला जनप्रतिनिधि र अधिकारकर्मीबीच ललितपुरमा आयोजित तीनदिने बागमती प्रदेशस्तरीय कार्यशालामा विभिन्न पालिकाका जनप्रतिनिधिले आफ्नो कार्यअनुभव र आगामी निर्वाचनको तयारीबारे धारणा राखेका थिए। महिला जनप्रतिनिधिले राजनीतिमा प्रवेश गरेपछि घरको भान्सादेखि समाज निर्माणसम्म पृथक् योगदान पुर्याउने गरेको अधिकारकर्मी भगवती अधिकारीले बताइन्। महिला एकता समाजका कार्यकारी निर्देशकसमेत रहेकी अधिकारीले महिला जनप्रतिनिधि सुशासन कायम गर्न र जनताको भावना बुझेर सेवा प्रदान गर्न सक्षम साबित भएको बताइन्। “महिला जनप्रतिनिधि सुशासन कायम गर्न र जनस्तरको भावना बुझेर सेवा प्रदान गर्न सक्षम साबित भएका छन्। त्यसैले राजनीतिमा उनीहरूको सहभागिता अझै बढाउनुपर्ने विषय राजनीतिक प्राथमिकतामा पर्नुपर्छ”, उनले भनिन्।