नेपालको आर्थिक विकास र समृद्धिका लागि सहयोग गर्न स्विस सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिको लागि सहयोग गर्न स्विट्जरल्यान्ड सरकारलाई आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेकी नेपालको लागि स्विट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्विट्जरल्यान्डको अभ्यास स्थापित भएको बताए ।  नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भुइँ तहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गरे। नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गरे।

राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै द्विपक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाएकी थिइन्।