श्रममन्त्रीसँग दुई देशका राजदूतको शिष्टाचार भेट

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डेनियल मेउलीले शिष्टाचार भेट गरेका छन् । 

आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच आप्रवासनका सवाल र रोजगार सेवा केन्द्रको सबलीकरण गर्ने सम्बन्धमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालले रोजगार सेवा केन्द्रलाई ‘रोजगारीको केन्द्र का रूपमा विकास गर्नका लागि सम्बन्धित विकास साझेदारसँगको सामूहिक छलफलबाट निष्कर्षमा पुग्नुपर्ने र आप्रवासनका सवालको सम्बोधन सरोकारवाला सबैसँगको सहकार्यमा गर्न चाहेको बताए ।

यसैगरी आजै स्वीस सम्पर्क नेपालका देशीय निर्देशक सञ्जय कार्कीसहितको टोलीसँग आन्तरिक रोजगारी प्रवर्द्धनका लागि गर्न सकिने सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

आज नै मन्त्री भण्डारीसँग नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क, ताई यंगले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा गणतन्त्र कोरिया र नेपालबीच भएको इपिएस कोरियासम्बन्धी द्विपक्षीय समझदारी र कोरिया रिटर्नीको सीप क्षमता सदुपयोगलगायतका विषयमा छलफल भएको छ ।