अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरण हो : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरण भएको बताएका छन्  ।

वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् ।

‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । पार्टीका नेता, कार्यकर्ता, समाज र देश भ्रष्टाचारकै कारणले बिग्रेको छ’, उनले भने, ‘यसबाट हामी कसरी उन्मुक्ति पाउने ?  कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए ।

उनले राष्ट्रिय राजनीति सञ्चालकहरुले विचार पुर्याएर, संवेदनशील भएर चल्न सकेमात्र यसो राष्ट्रिय राजनीतिका समस्या, अप्ठ्यारा र चुनौतीहरूको सामना गर्न सकिने पनि बताए ।