सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट,  ५ हजार ३४० आवेदकले पाए  सेयर

काठमाडौँ । सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर आईपीओ बाँडफाँ गरेको छ । आज बुधबार बिहान वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि खुलाइएको आईपीओ  बाँडफाँट  भएको बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

आईपीओमा  वैदेशिक रोजगारमा रहेर आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ। बुक बिल्डिङ विधिमा खुलेको आईपीओ भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनैपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ।

सोअनुसार ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएका हुन्। उक्त आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ।

बिक्री प्रवन्धक ग्लोबल आईएमईका अनुसार वैदेशिक रोजगारमा रहेका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो। बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ।

कम्पनीका अनुसार प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुलाउने तयारी छ।