बालकुमारी प्रदर्शन : प्रहरीसँगको झडपमा एक युवाको मृत्यु

काठमाडौँ - रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका एक युवाको प्रहरीसँगको झडपमा मृत्यु भएको छ । २३ वर्षीय सुजन राउतको मृत्यु भएको किस्ट अस्पतालले पुष्टी गरेको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले मृत्यु भएका युवाको छातिमा रातो दाग भएको नेपालभ्युजलाई बताए । ‘१२ः४० मा अस्पताल ल्याइएको थियो, १ः१७ मा मृत्यु घोषणा गरिएको हो ’ उनले भने । अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिए ।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । मन्त्रीको गाडी जलाउने क्रममा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएको प्रदर्शनकारीको भनाई छ ।

तर, मृतक युवालाई गोली लगेको भने देखिएको छैन । प्रहरीको कुटाइबाट उनको मृत्यु भएको आशंका गरिएको छ ।  मन्त्रीको गाडी जलाउनुअघि टायरको हावा खुस्काउने क्रममा प्रहरीले गोली प्रहार गरेको र दुई जना घाइते भएको प्रदर्शनकारीको दाबी छ । घाइतेलाई एम्बुलेन्सबाट किस्ट अस्पताल लगिएको थियो । तिनैमध्ये एकजनाको मृत्यु भएको हो । प्रहरीले भने अश्रुग्यास र हवाइ फायर मात्रै गरिएको बताएको छ ।