सूचक सम्मान बाट दश साहित्यकार एकसाथ सम्मानित

काठमाण्डौँ - 'सिर्जनाको खोजी र प्रतिभाको सम्मान'लाई मूल मन्त्र बनाएको सूचक प्रकाशनले आफ्नो १५औं वार्षिकोत्सव भव्यरूपमा सुसम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र वरिष्ठ सञ्चारकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित संयुक्त रुपमा समर्पण गरिएको छ ।

त्यस्तै सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा• रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा• सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ ।

त्यसरी नै पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री 'नदी'लाई कदर-पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा शिक्षाविद् एवम् समाजसेवी केदारनाथ श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीन कारणले उक्त कार्यक्रम विशेष रहेको दाबी गरे- एक, कार्यक्रमको शुभारम्भ र समापन तोकिएको समयमा भएको ; दुई, सम्मानित अनुहारहरूमा युगौँ दलनमा राखिएका आधा आकाश धानेका महिलाहरूको बाहुल्यता र तीन, वक्ताहरूको सङ्क्षिप्त र सान्दर्भिक मन्तव्य । प्रभावहीन, बोझिलो र वाक्कलाग्दो मन्तव्य श्रवण गर्न नपरेकोमा उनी सन्तुष्ट देखिन्थे । राईले थपे- "हामी समावेशी प्रज्ञा प्रतिष्ठान बनाउने एक सूत्रीय अभियानमा दत्तचित्त छौँ भने सूचक प्रकाशन पनि समावेशिताको चाक्लो राजमार्गमा यात्रारत । तसर्थ कुनै न कुनै कुइनेटोमा हाम्रो भेट अवश्य हुन्छ भन्नेमा म विश्वस्त छु ।"
कार्यक्रमका सहजकर्ता युवा कवि तथा गजलकार प्रकाश समीरको आग्रहको जवाफ दिँदै राईले विशुद्ध साहित्यिक कार्यक्रमका निम्ति प्रज्ञाका दुई सभाकक्ष- लेखनाथ र पारिजात प्रेक्षालय- को हलभाडाका हकमा पचास प्रतिशत सहुलियत दिने उद्घोष गरे ।
पुरस्कृत व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै साहित्यकार इल्या भट्टराईले लेखन पुरस्कारका निम्ति नभए पनि पुरस्कृत हुँदाखेरि गौरवान्वित अनुभूत भएको उल्लेख गरिन् । लेखकको नाउँमा स्थापित पुरस्कार ग्रहण गर्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।
सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्ने सिलसिलामा सपना लामिछानेले उपस्थित, पुरस्कृत र सम्मानित सबैप्रति कृतक्ज्ञता ज्ञापन गरिन् ।
अर्का कवि वसन्त नकर्मीले आफूभन्दा अग्रज साहित्यकारसामु उभिएर दुई शब्द राख्न पाएकामा सूचक प्रकाशनप्रति आभार व्यक्त गरे ।
सम्मानित साहित्यकारद्वय गीता कार्की र रेणुका सोलुले एकेक वटा कविता वाचन गरे ।