इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति

 काठमाडौँ - इजरायल र हमासबीच थप दुई दिन युद्धविराम गर्ने सहमति भएको छ । कतारको विदेश मन्त्रालयले युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको बताएको छ । कतार इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिकामा रहेको छ । हमासले पनि थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको पुष्टि गरेको छ ।

चार दिने इजरायल–हमास युद्धविरामको आज अन्तिम दिन हो । इजरायल सरकारले अझै १८४ इजरायली नागरिक हमासको नियन्त्रणमा रहेको बताएको छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने शर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ । तर युद्धविराम सकिने बित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा छ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।