'गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र हो' : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् । 
गणतन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले भनेका छन्, ‘जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौँ, सँगसँगै कर्तव्य पनि नभुलौँ ।’

नेपाली नागरिकले अधिकार प्राप्त गरेको दिनका रूपमा गणतन्त्र दिवसको स्मरण गर्दै उनले सबै नेपाली दिदीबहिनी, दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष ओलीले हामीले अधिकार प्राप्त भएसँगै कर्तव्य पनि भुल्न नहुने बताए ।