लामो समयदेखि  सम्पर्कविहीन तीन सईसहित २० जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन २० जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो । प्रहरी नायव निरीक्षक (सई) देखि प्रहरी जवानसम्म २० जना प्रहरी झण्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ ।

गैरहाजिर हुनेमा तीन जना सई, एक जना असई, दुई जना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्यथा प्रहर नियमावली २०७१ को नियम ११३ को उपनियम १ को खण्ड च कोसुर अनुसार सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।