कम्युनिष्ट पार्टीमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधक हो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधक बनेको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष यादवले सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिरेको टिप्पणी गरे ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उनले जिकिर गरे ।
कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ थियो। अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताए।

उनले भने,‘अहिलेको कम्युनिष्ट साथीहरु नरिसाउनु होला। अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन। जोसँग पनि चलेकै छ। के को लागि भन्दाखेरी त्यहाँ बैचारिक अन्यौलता, आर्दश र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकि रहदो रहेछ । र त्यो चाँही सबैमा होइन। त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्टयाउनै गाह्रो छ।’