सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

 तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका ५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ ।

सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । 

उनले भने, ‘सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन थिए । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।’

गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा घटना भएको बताएको गुरुङले उल्लेख गरे ।  ‘फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन् ।’ गुरुङले भने । 

रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।