सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौँ - अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।  

सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो सूचना जारी उल्लेख छ ।  

यससँगै अब सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गर्नुपर्नेछ । यसअघि भने यस्तो सेवा लिनका लागि नागरिकता प्रमाणपत्रको देखाउनु पर्ने व्यवस्था थियो ।