तापक्रम दैनिक बढ्दो, सतर्कता अपनाउन विभागको आग्रह

काठमाण्डौँ - हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको बताएको छ । 

साथै गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा लुम्बिनी प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यहाँ आज अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

विगत केही दिनदेखि पश्चिम तराइका धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको विभागले बताएको छ । 
विभागले ती भेगका बासिन्दालाई गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।