जाडोमा पनि सुन्दर र स्टाइलिस देखिन कस्ता कपडा लगाउने ?

काठमाडौँ– जाडो मौसम सुरु भएसँगै विशेष गरी महिलामा कस्ता लुगा लगाउने भन्ने चिन्ता स्वाभाविक रूपमा बढ्ने गर्छ । 

 

जाडो मौसममा स्टाइलिस देखिनु धेरै गाह्रो काम हो । त्यसैगरी फेसन र ट्रेन्ड दिनानुदिन परिवर्तन भइरहेका छन् । बजारमा जाडो लक्षित फेसनेबल नयाँ–नयाँ कपडा देखापर्न थालेका छन् । 

 

यस वर्षको जाडो उत्कर्षमा पुग्ने क्रममा छ । मौसमसँगै पहिरन शैली पनि बदलिन्छ । पातला, हल्का कपडा थन्क्याएर न्यानो कपडा खोज्न थालिएको छ । जाडोमा बाक्लो र पूरा शरीर ढाक्ने न्यानो कपडा खोज्ने गरिन्छ ।

 

यद्यपि अहिले पहिरनको सम्बन्ध शरीर ढाक्ने वा जाडो छल्नमा मात्र छैन । पछिल्लो समय मानिस आफ्नो शरीरअनुसार कस्तो पहिरन सुहाउँछ भन्ने कुरामा बढी सचेत हुन थालेका छन् ।

 

आफूलाई सुहाउँदो एवं आकर्षक देखिने पहिरनको खोजीले फेसन बजारलाई बाह्रैमास चलायमान बनाउने गर्छ ।

 

जाडोयाममा कस्तो पहिरन उपयुक्त ?

 

जाडो महिनामा विशेष गरी महिलाका लागि अनेकथरी कपडा बजारमा पाइन्छन् । जस्तै, कुर्तामा ऊन (उलन) र मखमल (भेल्भेट) को कपडा जाडो महिनाका लागि उपयुक्त मानिन्छ ।

 

बुटिकबाट बन्ने भेल्भेटका कपडा पछिल्लो समय चलेको फेसन हो । यसमा लुज टाइपको प्लाजो पाइन्ट पनि पर्छ । कामकाजी महिलाको हकमा लामो कुर्तीमा प्लाजो जाडो मौसमका लागि उपयुक्त हुन्छ ।

 

कोटमा हिपसम्मको ‘सर्ट कोट’ पनि राम्रो देखिन्छ । साथै विदेशी पहिरनमा हुडी र ज्याकेटको कम्बिनेसनमा पनि महिलालाई साधारण र सुन्दर देखिन्छ । 

 

रङको हिसाबमा कुरा गर्दा जाडोयाममा गाढा कालो रङका कपडाहरू बढी प्रयोगमा आउने गर्छन् । डिजाइनको कुरा गर्दा क्याजुअल ड्रेमा प्यारलल पाइन्ट र लङ कोट जाडोमा बढी लगाउने गरिको देखिन्छ । पार्टी वेयरमा भेलनको साडी, भेल्भेटकै गाउन बढी चलनचल्तीमा छन् । 

 

त्यस्तै पछिल्लो समय मानिस कोरियन फेसनप्रति पनि आकर्षित भएका छन् । जसका कारण बजारमा यसका प्रयोगकर्ता बढ्दै गएका छन् ।

 

कस्तो कोटसँग कस्तो पाइन्ट लगाउने ? कस्तो जुत्ता लगाउने ? मफलर र टोपी कसरी लगाउने ? यस्ता कुरामा ज्ञान हुनुपर्ने फेसनविद्हरू बताउँछन् ।

 

जाडोको आफ्नै फेसन छ । नेपाली फेसनमा कोरियन स्टाइल यसबेला हाबी हुने गर्छ । लङ कोट, लेगिङ्स, उलन स्वेटर, उलन टोपी, मफलर, लङ बुट आदि जाडोमा बढी चलेका फेसन हुन् ।

 

जाडोमा पहिरन कसरी मिलाएर लगाउने ?

 

– न्यानो र स्मार्ट लुक्सका लागि तपाईं गोलो गला भएको स्वेटर लगाउन सक्नुहुन्छ । कुनै पनि लाइट कलरको स्वेटरका साथमा निलो रङको जिन्सले तपाईंको लुक्सलाई अझ आकर्षक देखाउँछ । यसका साथमा गलामा मफलर पनि लगाउँदा अझ राम्रो देखिन्छ ।

 

– जाडो महिनामा खैरो, कालो, गाढा निलो, बैजनी, सेतो आदि रङका कपडा लगाउनुपर्छ । यसले तपाईलाई फेसनेबल देखाउन मद्दत गर्छ ।

 

– जाडोमा सबै लुक्सका लागि मफलर, ऊनको नेक वार्मर र पन्जा लगाउन सक्नुहुन्छ । यसले न्यानोमात्रै नभएर स्टाइलिस पनि देखाउँछ ।

 

जाडोयाममा आँखाले हेर्दा पनि न्यानो देखिने खालका कपडाहरू किन्नु उपयुक्त हुन्छ । जाडो मौसममा हाम्रो शरीरलाई न्यानोपनको आवश्यकता पर्छ । त्यसैले चिसो मौसमका लागि रङ, कपडाको प्रकृति र त्यसको बनोटले पनि असर गर्छ ।