हमासले छाड्यो १३ बन्धक, इजराइलले ३९ कैदी, परेनन् नेपालका विपिन

काठमाडौँ - प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ । एशोसियट प्रेसका अनुसार गाजामा स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि युद्धविराम भएको हो ।

हमासले बन्दी मुक्त गर्ने र इजराइलले गाजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इजराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो । इजराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गाजामा युद्धविराम भएको हो ।

हमासले इजरायलबाट बन्धक बनाएर गाजा पुर्‍याएको इजरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो । बदलामा इजराइलले गाजामा आक्रमण नगर्ने र इजराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो ।

एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इजराइली बन्धकलाई मुक्त गरेको छ । इजराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ । रिहा हुनेमा २४ जना महिला र १५ जना किशोर किशोरी रहेको एपीले उल्लेख गरेको छ । उनीहरूमध्ये केही इजराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए ।

थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् । ‘विदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन् । दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ । उहाँहरूको परिचय भने खुलिसकेको छैन,’ प्रधानमन्त्री थाविसिनले एक्स ट्विटरमा लेखेका छन् । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ । रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ ।