गठ्ठाघर दुर्घटना : ट्राफिकको गल्ती नदेखिएको छानविन समितिको निष्कर्ष

काठमाडौँ । भक्तपुरको गठ्ठाघर दुर्घटनाको छानबिन गर्न बनेको छानविन समितिले दुर्घटना हुनुमा ट्राफिक प्रहरीहरूको गल्ती नदेखिएको निष्कर्ष निकालेको छ ।

साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा ३९ प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीले लुकेर सवारी चेकिङ गर्दा उक्त घटना घटेको भन्दै प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको थियो । त्यसपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा साउन ३२ गते छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।

उक्त समितिले गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको निष्कर्ष निकालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व राज खड्काले जानकारी दिए ।

उक्त दुर्घटनापछि सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि साउन ३२ गते छानबिन समिति गठन गरेको थियो । ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ ।

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारीचालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन् ।

उक्त समितिले हाल काम गरिरहेको समितिका संयोजक डोलेन्द्र निरौलाले जानकारी दिए । उनले भने,‘छानबिनको काम अझै सकिएको छैन,काम भइरहेको छ ।’

छानविन समितिमा संलग्न एक अधिकारीका अनुसार ट्रकको प्राविधिक त्रुटी देखिएको छैन। त्यस्तै हालसम्मको अनुसन्धानमा ट्राफिक प्रहरीको पनि प्रत्यक्ष गल्ती देखिएको छैन । ‘तर,ट्राफिक प्रहरीसँगको पनि अझै अनुसन्धान सकिएको छैन, थप अन्य पक्षबाट पनि छानबिन भइरहेको छ,’ती पदाधिकारीले भने ।