मकवानपुरमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी  

काठमाडौँ । मकवानपुरमा जंगली च्याउ खाँदा एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ । च्याउ खाएर १६ जना बिरामी परेका छन् ।

जंगली च्याउको तरकारी पकाएर खाँदा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा गरी १९ जना प्रभावित भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ती मध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

३ असारमा कैलाश गाउँपालिका(९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु भएको छ । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

कैलाश- ९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

निरूमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै मकवानपुरस्थित हेटौंडा अस्पतालमै ल्याएको थियो । उनको सोबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । मृतक बालक दीपेश र निरुमाया काकी भतिजा हुन् ।

यस्तै, आइतबार साँझ राक्सिराङ गाउँपालिका- ७ दुदुवाङ बस्ने बलबहादुर प्रजाले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनको पनि मृत्यु भयो ।

आइतबार साँझको खानामा परिवारका सबै सदस्य सँगै बसेर च्याउको तरकारी खाएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिवारका अन्य ४ सदस्यको अहिले पनि भरतपुर अस्पतालमै उपचारत भइरहेको छ ।

बलबहादुरकी श्रीमती ४५ वर्षीया जालिमाया प्रजा, छोरी १५ वर्षकी रेञ्जु प्रजा, अर्की छोरी ८ वर्षकी सबिना प्रजा र छोरा १० वर्षका सुशल प्रजाको अवस्था अझै पूर्ण रुपमा सुधार भइसकेको छैन ।

मकवानपुरमा च्याउ खाएर बिरामी भएका १९ जनामध्ये ८ जना डिस्चार्ज भएका जिल्ला प्रहरी कायाृलय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार ८ जनाको अहिले पनि विभिन्न अस्पतालमा उपचारत चलिरहेको छ ।