सांसदका योजनाहरुलाई कटाएर सरकारले बजेट ल्याए मान्य नहुने कांग्रेस सांसद घिमिरेको चेतावनी

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरुले दिएको सुझावको आधारमा बजेट बनाउन सरकारलाई दबाद दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदका योजनाहरुलाई कटाएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याए आफूहरुलाई मान्य नहुनेसमेत बताए।

सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेटका लागि तत्काल प्रि–बजेट छलफल गराउने अडानबाट पछि नहट्न पनि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए।

उनले भने, ‘अब बजेट विनियोजनको लागि प्रि–बजेट छलफल गराउँछु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। यो कुरामा प्रधानमन्त्री दृढ रहनुहोस्। र सांसदहरुका आवाजलाई उहाँले यो बजेटमा समावेश गर्नुपर्छ। हामी जननिर्वाचित भएर आउँदै गर्दा जनतासँग जुन आश्वासन दिएका छौं, तिनलाई कैँची लगाएर काट्न अधिकार सरकारलाई छैन। उहाँहरु जसरी निर्वाचित भएर आउनुभएको हो, त्यसैगरी हामी पनि निर्वाचित भएर आएका हौं। हाम्रा कुराहरु पनि बजेटमा राख्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु।’