भ्रष्टाचारविरुद्ध निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह  

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुरप्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामती क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गरे ।

“माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपछ भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको छ,” उनले भने । उनले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताए ।

उनले निजामतीभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको उल्लेख गरे ।