आफू सत्तामा आएपछि मुलुकमा आशाको सञ्चार भएको एमालेको दाबी

काठमाडौँ । नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो ।

सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

त्यसैगरी, एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बिरोध पनि गरेको छ।

उपमहासचिव ज्ञवालीले भने, ‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरेका छौँ। नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भइसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ। हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस संकल्प गरेको छ। सरकारले पनि त्यही हिसावले आफ्ना कामहरुलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस भनेर हामीले शुभकामना पनि दिएका छौँ।’