युरोपियन फुटबलमा अदालतको ऐतिहासिक फैसला, नयाँ सुपर लिगको घोषणा

काठमाडौँ - युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन इयुको कानूनलाई तोडेको फैसला गरेपछि युरोपियन सुपर लिगको घोषणा गरिएको छ ।

युरोपियन अदालतको फैसलाको ब्याख्या जारी रहेको बेला सुपर लिगका आयोजकहरुले पुरुष तर्फ ६४ र महिला तर्फ ३२ क्लबले सुपर लिगमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन् । यस लिगको संचालक स्पोर्ट्स कन्सल्टिङ फर्म ए२२ का सिइओ बेर्नाड रेइचार्टले युरोपियन सुपर लिगको घोषणा गर्दै यी खेलहरु निशुल्क रुपमा देखाउने घोषणा गरेका छन् ।

उनले युरोपका उत्कृष्ट ६४ क्लबलाई तीन तहमा विभाजन गरेर शुरुमा लिग र त्यसपछि नकआउट चरणमा खेलाउने बताएका छन् ।  यस प्रतियोगितामा कुनै पनि क्लब सदस्य नहुने र मेरिटका आधारमा हरेक बर्ष छानिने जानकारी दिएका छन् ।

यो लिगका तीन तहको नाम स्टार, गोल्ड र ब्लू दिइएको छ भने  हरेक बर्ष सेप्टेम्बरदेखि अप्रिलसम्म यो लिग खेलिने बताइएको छ । जसमा स्टार र गोल्ड लिगमा १६-१६ क्लब हुने छन् भने ब्लु लिगमा ३२ क्लब हुने बताइएको छ । स्टार र गोल्ड लिगका क्लबलाई ८-८ टिमको समुहमा बिभाजन गरिने बताइएको छ । होम र अवे आधारमा खेलेपछि सबै समुहका शिर्ष ४-४ टिमलाई नकआउटमा प्रवेश दिइने बताइएको छ ।