दशैँमा खानपिन गर्दा के कुरामा ध्यान दिने ?

काठमाण्डाैँ - दशैँ नेपालीहरुको ठूलो चाड, नेपालीहरुले दिल खोलेर मनाउने पर्व । नयाँ लुगा लगाउने, आफन्तजन भेटघाट गर्ने र मिठो खाने । परम्परा र रिती रिवाज बाहेक दशैँको विशेषता नै यहिँ हो । खशी काटेर हप्तौ दिनसम्म लगातार मासु खाने गरिन्छ ।

खसी बाहेक पनि राँगा, बंगुर, कुखुरा, माछा आफ्नो चलन अनुसार खाने प्रचलन छ । त्यस्तै शाकाहारीहरुले पनिर, तोफुलगायतका अन्य तरकारीहरुका परिकार पकाएर खाने गर्छन् । अन्य समयभन्दा दशैँको समयमा खानपिन बढी चिल्लो र मसलादार हुने गर्छ । जसका कारण स्वास्थ्यमा असर गर्न सक्छ ।

नेपालीहरु विश्वमा आयको तुलनामा बढी मासु खानेमा पर्दछन् । चाडपर्वको बेलामा मासुको खपत पनि निकै बढ्ने गर्छ । यद्यपी चिकित्सकहरु भने बढी मात्रामा मासु खानेलाई स्वास्थ्यमा समस्या हुन सक्ने बताउँछन् ।

सामान्यतया, दशैँमा धेरै रातो मासु खाइन्छ । स्वास्थ्यमा धेरै समस्या नै रातो मासुले हुने गर्दछ । रातो मासुमा हुने बोसोले पेटको समस्या हुने गर्दछ । कब्जियत, पेट दुख्ने तथा अन्य पेट सम्बन्धित समस्या धेरै हुने गर्छ । वर्षमा एक पटक आउने चाडपर्व भनेर यो समयमा धेरै खाइने भएकोले पनि अलि सचेत हुनुपर्छ । तर खानालाई सन्तुलनमा कसरी राख्ने त ?

यसैगरी, मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, मुटुको समस्या, पाइल्स र अन्य पेटको समस्या हुने लगायतका स्वास्थ्य समस्या हुनेले रातो मासु कम खानुपर्छ । सकेसम्म खानु नै हुँदैन । तर यस्तो अवस्थामा हामीले केहि कम गर्न सक्छौँ । अब कसरी कम गर्ने त ?

रातो मासु भनेको पुरा प्रोटिन जसमा फाइबर नै हुँदैन तर फ्याट हुन्छ । त्यसैले स्वस्थ खानको लागि हामीले फाइबरयुक्त खाना खानुपर्छ । मासु खाँदा अलि धेरै तरकारी खानुपर्यो । त्यसो गर्दा हाम्रो पेट स्वस्थ रहन्छ । यस्तै, तरकारी धेरै खाँदा अन्य रोग बढ्न नदिन र मुटुलाई पनि स्वस्थ राख्न सहयोग गर्छ ।

खानासँगै दशैँको समयमा निष्क्रिय भइन्छ । पुरुषको तुलनामा महिलाहरु भने भान्सामा काम गर्नुपर्ने भएकाले अलि बढी सक्रिय हुन्छन् । त्यसैले, पुरुषहरुलाई बढी मात्रामा हृदयघात, स्ट्रोकको खतरा हुन्छ । दशैँको समयमा कार्यालयहरु विदा हुने भएकाले पुरुषहरुले निष्किृय हुने हुँदा अलि समस्या हुन सक्छ । त्यसैले पुरुषहरु अलि सकृय हुनु आवश्यक छ । खाने र बस्ने मात्र नभएर भान्साका काममा पनि सहयोग गर्ने, बिहान बेलुकी हिँडडुल गर्नुपर्छ । जसकारण खाएका खानेकुरा शक्तिमा परिणत होस् , फ्याटका रुपमा सञ्चित भएर नबनाेस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

अर्को फाइबरसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । दशैँमा हामी खासगरी, कोक, फेन्टा जस्ता पेय पदार्थमा बढी जोड दिन्छौँ । कोल्ड ड्रिंक्समा धेरै सुगर हुन्छ जसले गर्दा मुटुको रोग, सुगर, प्रेसर बढ्न सक्छ । त्यसकारण पिउने पानी धेरै पिउनुपर्छ । पानी धेरै पिउँदा पेटका साथै पुरै स्वास्थ्यका लागि फाइदा हुनेछ । पानी धेरै पिउँदा खाना धेरै खाइँदैन । दिनमा ३ वा ४ लिटर अथवा शरिरको अवस्था हेरेर बढी वा कम पिउनुपर्छ ।