images

चीन पुगे प्रधानमन्त्री प्रचण्ड, हाङ्जाओ विमानस्थलमा भव्य स्वागत (तस्बीरहरु)

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ पुगेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ । प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ ।

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ । भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नेछन् ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनको विश्वास छ । छोङछिङको भ्रमण पछि नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको छ ।


 

शनिबार ६ असो २०८० १०:०८ AM मा प्रकाशित

प्रतिक्रिया