भ्रमण र पर्यटक भिसासम्बन्धी नयाँ कार्यविधि सार्वजनिक : के–के कागजात चाहिन्छ ? (पूर्णपाठसहित) 

काठमाडौँ । सरकारले  भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि चाहिने कागजातका विवरण सार्वजनिक गरेको छ ।

अध्यागमन विभागले मंगलबार आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले बनाएको यो कार्यविधि भोलि बुधबारदेखि लागू हुनेछ ।

नयाँ कार्यविधिअनुसार भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूका लागि राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले व्यवस्था गरेको कागजात, भ्रमणको खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाणपत्र र फर्किने स्वघोषणको कागजात चाहिनेछ ।

अध्यागमन विभागले घुम्न र परिवार भेट्न विदेश जानेहरूले सेटिङको नाममा बिचौलियालाई पैसा नबुझाउन, भ्रमण र पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित काम नगर्न आग्रह गरेको छ । भिजिट र पर्यटक भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने कार्यविधिमा उल्लेख छ । विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राख्न विभागको आग्रह छ ।