प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी सातौं हार

काठमाडौँ- प्रधानमनत्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा कोशीको यो लगातार सातौं हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८।३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीलाई जिताउन विकेटकिपर ब्याटर अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले । ५० रनमा नट आउट रहेका उनले ६ चौका र २ छक्का हाने ।

यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे । कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए ।यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४।३ ओभरमा १५१ रनमा अल आउट भएको थियो । कोशीका लागि सुजन थपलियाले ७३ रनको शानदार पारी खेले पनि अर्को छेउबाट उनलाई अरु खेलाडीले गतिलो साथ दिन सकेनन् । नवौं नम्बरमा ब्याटिङमा आएका सुजन घिमिरेले १२ रन बनाए ।

कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।