मकवानपुरमा भैँसीले बाघ मार्‍यो, बाघको आक्रमणबाट भैँसी पनि घाइते  

काठमाडौँ । मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको छ । बिहीबार (आज)  बिहान ३ बजेतिर मनहरी गाउँपालिका- ६ प्रतापपुरका बलबहादुर राईको भैँसी गोठमा आएको बाघ मृत भेटिएको हो ।

गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन ।

नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैँसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । भैँसीले सिङले हान्दा र खुट्टाले कुल्चिँदा बाघ मरेको हुन सक्ने अनुमान गरिएको छ।

गोठमा रहेको भैँसी पनि बाघको आक्रमणबाट सामान्य घाइते भएको छ । गर्धनसहित शरीरका केही भागमा चोट लागेपनि भैँसीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

बाघले गोठमा आएर भैँसीलाई आक्रमण गर्न थालेपछि घरधनीले थाहा पाएका थिए । छिमेकीहरूसहित आफू गोठमा पुग्दा बाघ मरेको अवस्थामा फेला परेको भैँसीधनी राईले बताए ।

घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लापमटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।