घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट, दुई जना विद्यार्थी पक्राउ  

काठमाडौँ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम विस्फोट भएको छ। बिहीबार बिहान ९ बजेतिर क्याम्पसमा सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यलयका घोराहीले जनाएको छ ।

 बम विस्फोट गराएको आरोपमा प्रहरीले सोही क्याम्पसमा पढ्ने दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यलयका अनुसार क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का अभियान थापा र सुभम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू प्लस टुका विद्यार्थी हुन्। पक्राउ परेका विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिएको प्रहरीको भनाइ छ।

मोटरसाइकलमा आएका दुई जनाले सुतली बम विस्फोट गराएर भागेका थिए। भाग्दै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।