मौसम : कोशी र मधेस सहित अधिकांस भेगमा वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ - कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदली बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले अनुमान गरेको छ ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पु्र्ण बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । वर्षाका कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ ।