आजदेखि उपत्यकामा मेलम्चीको पानी बन्द

काठमाडौँ - आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार बन्द गरिने भएको हो ।

मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गर्न लागिएको हो ।

योसँगै उपत्यकावासी आजदेखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिले जनाएको छ । मनसुनको जोखिम सकिएपछि मात्रै उपत्यकामा मेलम्चीको पनि पुनः वितरण गरिने भएको छ ।