दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोवार रकम कति ? 

काठमाडौँ - साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ विन्दुमा उक्लिएको हो । 

एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर पाँच अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम भएको हो । सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० विन्दुमा पुग्दा एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर पाँच अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

यसअघि आइतबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको थियो । मंगलबार विकास बैंक र व्यापारबाहेक सबै उपसमूह बढेको छ । फाइनान्स उपसमूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ । जलविद्युत् २.१६, वाणिज्य बैंक १.७७, लघुवित्त १.४७ प्रतिशतले बढेको छ ।

१९४ कम्पनीको शेयर मूल्य बढ्दा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।  बुद्धभूमि नेपाल हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत्, हिमालयन लघुवित्त, इस्टर्न हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर, महुली लघुवित्त पनि सर्किटस्तरमा बढेका छन् ।