अमेरिकाको मेम्फिसमा गोली चल्दा दुईजनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुईजनाको मृत्यु र अन्य ६ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

घटनास्थलमा दुईजना मृत फेला परेको र घाइते ६ मध्ये एकजनाको अवस्था ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ ।

यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्कनजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनाधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।

अमेरिकामा बन्दुक हिंसा सामान्य छ । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी संगठन गन भायलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा १२० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन् । गत वर्ष कुल ६५६ यस्ता गोलीबारी भएका थिए ।