तेस्रो लगानी सम्मेलन : अर्थमन्त्री भन्छन्-'आउनुस् नेपालमा लगानी सुरक्षित हुन्छ, सहकार्यमा आतुर छौँ' 

 काठमाडौँ - सरकारले बैशाखमा तेस्रो लगानी सम्मेलन गर्दैछ । यो सम्मेलनलाई भब्य बनाउन अर्थमन्त्री वर्षमा पुनले निर्देशन दिएका छन् ।

तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक पुनले यस्तो निर्देशन दिएका हुन् । लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।

स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपाली लगायतबाट लगानी आकर्षण गर्ने अभिप्रायले आयोजना हुन लागेको यस लगानी सम्मेलनमा अधिकतम बी२बी व्यावसायिक साझेदारीका परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूलाई आह्वान गरे ।
निजी क्षेत्रका तीनओटा छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।