नेपाली नागरिकले मतदाता परिचयपत्र देखाएर पनि भारतीय सिमकार्ड लिन पाउने

काठमाडौँ । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।

अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने भारत सरकारले जनाएको छ । भारत सरकारको सञ्चार मन्त्रालयअन्तर्गत दूरञ्चार विभागले सोमबार भारत भ्रमणमा जाने नेपाल र भुटानका नागरिकहरूलाई मोबाइल सिम प्राप्त गर्न सहज हुने गरी विद्यमान केवाईसी निर्देशिकामा संशोधन गरेको हो ।

नेपाली र भुटानीलाई भारतमा प्रवेशाज्ञा लिनु नपर्ने भएकाले नागरिकता, मतदाता परिचय पत्र वा सम्बन्धित देशका स्थानीय नियोगले जारी गर्ने अस्थायी प्रमाणपत्रका आधारमा पनि सिमकार्ड प्राप्त गर्ने व्यवस्था भारतले गरेको छ । तर आफ्नो मूल देशबाट भारत जाँदा मात्र यो व्यवस्था लागू हुनेछ ।

अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने राहदानीको प्रतिलिपि अनिवार्यरुपमा देखाउनुपर्नेछ ।