चन्द्रमामा अन्तरिक्ष यान ल्याण्डिङ गर्ने विश्वको पाँचौं देश बन्यो जापान  

एजेन्सी । जापान  चन्द्रमामा अन्तरिक्ष यान ल्याण्डिङ गर्ने विश्वको पाँचौं देश बनेको छ । जापानको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ पुष्टि गरेको छ।

यो मिसनलाई ‘कोसेढुंगा’ र भावी अन्तरिक्ष अन्वेषण अभियानका लागि ठूलो कदम  भएको जापानको अन्तरिक्ष एजेन्सी जाक्साले बताएको छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले अवतरण सफल भएको बताउँदै अन्तरिक्ष यानसँग सञ्चार सम्भव भएको बताए।

उनले चन्द्रमाको सतहमा अवतरण र सञ्चारलाई मिसनको ‘न्यूनतम सफलता’ भनेका छन्। उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्यांकन गर्ने बताए। अमेरिका, पूर्व सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौं देश जापान हो। गत वर्ष मात्रै भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमाको सतहमा पठाएको थियो।