बझाङ पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु 

काठमाडौँ । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका(१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए ।

पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिएका छन् । उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

आइतबार राति १ बजेतिर वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो। तर त्यही घरमा सुतेका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका छन्। वीरबहादुरको घरमा जम्मा १० जना सुतिरहेका थिए। तीमध्ये एक जना पाहुना हुन्।

तीमध्ये पहिरो खस्दा ६ जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। उनीहरू सामान्य घाइते भएका छन्। घरमूली वीरबहादुर धामी, उनका १६ वर्षीया छोरी कमला धामी, ३० वर्षीय छोरा उज्वल धामी, १० वर्षीय नाति रोशन धामी र २० वर्षीया बुहारी शान्ति धामीले भागेर ज्यान जोगाएका हुन्।

पाहुना आएका बुङ्गल नगरपालिका–९ का ७१ वर्षीय अम्बादत्त जोशीले पनि भागेर ज्यान जोगाएका छन्। सामान्य घाइते उनीहरूलाई अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।