आगामी महाधिवेशनमा शेखरलाई समर्थन गर्ने सुजाताको घोषणा

काठमाडौँ । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

पहिलोपटक शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगर पुगेकी सुजाताले देश गम्भिर अवस्थामा रहेको र त्यसलाई सुधार गर्न बलियो कांग्रेस आवश्यक रहेकाले आफुले शेखरलाई साथ दिन लागेको बताइन् ।

कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्रीसमेत रहेकी सुजाताले  आफूहरू एक रहेको सन्देश दिनकै लागि आफू शेखरको निमन्त्रणा स्वीकार गर्दै सम्पर्क कार्यालयमा आएको उनको भनाइ छ ।

उनले आफू शेखर कोइरालाको अभियानमा मिसिएको भन्दै अब शशांक कोइराला पनि आउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘देशको अवस्था गम्भीर छ, त्यही गम्भीरतालाई बुझेर म यहाँ आएकी हुँ,’ सुजाताले भनिन्, ‘मलाई के लाग्यो भने हामीहरू एकजुट छौँ भन्ने सन्देशसहित अघि बढेनौँ भने डेमोक्रेसी रहँदैन, मुलुकको भविष्य पनि रहँदैन हामी कोही रहँदैनौँ ।’