पार्टीबाट निष्कासित मुकुललाई उपसभापतिले दिए गँजेडीको संज्ञा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकाललाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गँजेडीको संज्ञा दिएका छन् ।

ढकालले लगाएको आरोपबारे पत्रकारले प्रतिक्रिया माग्दा वाग्लेले यस्तो भनेका हुन् । पूर्वमहामन्त्री ढकालले हालै एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा पार्टी उपसभापति डा.वाग्लेले नेपाललाई भारतको एउटा राज्य बनाउनुपर्ने कुरा गरेको दाबी गरेका थिए ।

यो कुराकानीको कुनै प्रमाण नरहेको तर, आफू ‘लाई डिटेक्टर मेसिन’ को सामना गर्न तयार रहेको उनको भनाइ थियो ।

वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’

यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा‘ (जवाफ दिएर साध्य हुन्छ ?)’