बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाद्धारा चासो व्यक्त

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छिन्।

डा. राणाले राजदूत भण्डारीलाई  टेलिफोन सम्पर्क गरि त्यहा रहेका नेपाली नागरिक र नेपाली विद्यार्थीको बारेमा जानकारी लिएकी हुन् ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराएका थिए।

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिए।

बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरूले सडक प्रदर्शन गरिरहेका छन् । सरकारी कोटाका विषयमा चर्किएको प्रदर्शमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।