जजिरा एयरलाइन्सले पुनः उडान सुरु गर्ने

काठमाण्डौँ - सात महिना कुवेत भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सुरु गरेको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार पाँच सय ९३ जना यात्रुहरू भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरू यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरूले सेवा लिएका थिए । पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान–अवतरण स्थगित गरेको थियो । अहिले यसको सेवा काठमाडौं केन्द्रित छ ।