एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको जनाए ।

‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तिर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।  

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकतास् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।