युवराज सफलले दिए रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । नेपाल प्रहरीको डीआईजीबाट सेवानिवृत्त रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खरेलविरुद्ध आइतबार युवराज पौडेल ‘सफल’ले उजुरी दिएका हुन् ।

खरेलले गएको साउन २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमै उजुरी दिएका थिए । उनले त्यो विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

एन्टी करप्सन नेटवर्कका निर्देशक समेत रहेका खरेलसँग सेवामा रहँदा सुनको सुराकीका नाममा बुझेको अकुत सम्पत्ति रहेको उजुरीकर्ता सफलले जिकिर गरेका छन् । त्यो सम्पत्ति छानबिनको मागसहित उनले अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा दिएको उजुरी निवेदनमा उनले भनेका छन्, “नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकमबारे छानबिन गरी आवश्यक कारबाही गरिपाऊँ ।”