धारिलो हतियार प्रहारबाट बाँकेमा दुई युवा घाइते, वडाध्यक्ष वलीसहित चार जना पक्राउ

काठमाडौ । दुई जना युवालाई खुकुरी हानेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका- २ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’लाई प्रहरीले पक्राउ गरेको छ ।

एमालेबाट निर्वाचित ज्ञानेन्द्रले बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।

सामान्य विवादमा वडाध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायत करिब एक दर्जन युवासमूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । वडाध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।