चिनियाँ उच्चस्तरीय टोली आज नेपाल आउँदै

काठमाडौँ - चीन सरकारको एक उच्चस्तरिय टोली आज नेपाल आउँदैछ । गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तको उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो । परराष्ट्र र गृह मन्त्रालयले उक्त भ्रमणको संयोजन गरेका छन् ।

स्रोतका अनुसार,हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री,गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ । गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुने गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन् ।

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरु बाक्लिएका छन् । हानपिन नेतृत्वको टोली फर्किए लगत्तै उपविदेश मन्त्रीको टोली नेपाल आउँदैछ । नेपाल चीन कुटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन उपविदेश मन्त्री सन वेईतोङ नेतृत्वको टोली आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त भ्रमणको आवश्यक तयारी गरिरहेको छ ।