सहकारी ऋणीलाई सावाँ र ब्याज तिर्न महानगरकै ताकेता, नतिरे कारबाहि हुने 

काठमाण्डौँ - सहकारीका ऋणीलाई सावाँ र ब्याज तिर्न  काठमाडौँ महानगरले आग्रह गरेको छ । 

महानगरले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गर्न ऋणीहरूलाई अनुरोध गरेको हो । 

साथै ऋणीले ऋण नतिरे कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी दिएको छ । 

 
ऋणले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो महाननगरमा आएको सुचनामा उल्लेख छ। 

केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था रहेको पाइएको महानगरले भनेको छ ।