राष्ट्रपतिबाट आम माफी पाएका चोर १२औं पटक पक्राउ

 ललितपुर - विगत १३ वर्षदेखि ललितपुरका विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिलाई प्रहरी १२ औं पटक पक्राउ गरेको छ ।

पछिल्लो पटक ३७ लाख १६ हजार बराबरको धनमाल चोरी भएपछि प्रहरी उनको खोजीमा लागेको थियो । प्रहरीले पेशेवर चोरको खोजी गर्दा दोलखाको शैलुङ गाउँपालिका ४ घर भएका रघुनाथ बस्नेत फेला परे । 

४० वर्षीय बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका थिए । गत असोज ३ गते राष्ट्रपतिबाट कैदा माफी मिनाह पाएका बस्नेत जेलबाट बाहिर आउने वित्तिकै पुरानै पेशामा फर्केका हुन् ।  पछिल्लो पटक प्रहरीलाई झुक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । 

संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा करिब ६० लाख बराबरको धनमाल चोरी गर्न भ्याएका थिए । प्रहरीले दिएको विवरण अनुुसार पछिल्लो पटक झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरी गरेका थिए। मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरी गरेका थिए ।