आजको शेयर बजार : एकल अंकले घट्यो नेप्से, आठ अर्ब बढीको कारोबार

काठमाण्डौँ - सेयर बजार परिसुचक नेप्से आज एकल अंकले घटेको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको सेयर उच्च गिरावट आएको छ । आज तेह्रथुम पावर कम्पनीको सेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । 

समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।